धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटारमा दोस्रो सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेला आजदेखी शुरु भएको छ।
हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा स्थानिय श्रोतको प्रर्वद्धन गरौं, देश विकासमा टेवा पुुर्याऔंं भन्ने मूल मर्मका साथ आजदेखी कृषि प्रदर्शनी तथा व्यापार मेला सुरु भएको हो।
मेलाको बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले उद्घाटन गर्नुभएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री सिलवालले सल्यानटारमा सिंचाईको पहल गरि किसानलाई आत्मनिर्भर बनाउने बताउनुभएको छ।
उहाँले लोप हुदै गएको थुप्रै रैथानेबालीहरु सल्यानटारमा उत्पादन हुने भन्दै सिंचाईको व्यवस्था भए किसानहरु आत्मनिर्भर बन्ने बताउनुभयो ।
सल्यानटार यस अघि नै डिपिआर भएको क्षेत्र भएको भन्दै उहाँले आगामी दिनमा सिंचाईको पहल गरि सल्यानटारलाई हराभरा बनाउन लाग्ने बताउनुभयो ।
सहकारी मार्फत यसरी महोत्सव होस् वा अन्य तवरबाट कृषि क्षेत्रमा आकर्षित गर्नु राम्रो काम भएकाले उत्पादित कृषि जन्य उत्पादनको बजारीकरण र कृषि क्षेत्रमा युवालाई रोजगारी दिलाउन सकियो भने सल्यानटार एउटा उदाहरणीय क्षेत्र बन्ने सिलवालको भनाई थियो।
कार्यक्रममा हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेश श्रेष्ठले स्थानिय कृषि उपजहरुलाई प्रर्वद्धन तथा बजारीकरणमा टेवा पुग्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो।
सल्यानटार पर्यटकिय, धार्मिक तथा ऐतिहासिक तवरले मात्र प्रख्यात नभई कृषि जन्य उत्पादनको पनि प्रवल सम्भावना रहेको क्षेत्र भएको बताउनुभयो।
उहाँले भन्नुभयो,‘सल्यानटारको मास र घैयाको धान नेपालमै प्रसिद्ध रहेको छ । पिडालु, भटमास, लिचि, केरा, आँप लगायत यस्ता थुप्रै कृषिजन्य उत्पादनको सम्भावना रहेको क्षेत्र हो। सिंचाईको व्यवस्थासँगै किसानले उचित मूल्य पाउने गरि बजारीकरण मात्रै पनि सल्यानटारबासीको जीवन फेरिनेछ ।’
मंसिर १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिव एक लाख जनाले अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो।