संघीय संसद अन्तर्गतका चारवटा संसदीय समितिको बैठक आज बस्दैछ। बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा दफावार छलफल हुनेछ।
त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्ने कार्यसूची संसद् सचिवालयले जनाएको छ। बैठक बिहान ११ बजे नै बस्नेछ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको पाँचौ वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ। बैठक बिहान ११ बजे समितिको कार्यालय सिंहदरबारमा बस्नेछ।
यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ।