धादिङ: अहिले धादिङ सहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । गएरातिदेखि नै बाग्मती, कोशी, मधेश, गण्डकी, लुम्बिनीका केही ठाउँ तथा अरू प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो पनि कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । काठमाण्डौ उपत्यकामा पनि गएरातिदेखि पानी परिरहेको छ । आज दिउँसो पनि पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पानी पर्ने प्रणाली विशेषगरी लुम्बिनी प्रदेशमा सक्रिय छ । ती क्षेत्रमा मध्यम तथा ठूलो वर्षा भइरहेको छ । जमिन भिजेको अवस्थामा हल्का पानी पर्दा पनि कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहने भएकाले त्यस्ता जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ