नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफ्नो मुखपत्र संक्रान्तिको लागि राष्ट्रव्यापी लेख प्रतियोगिताको आयोजना गरेको छ । मुखपत्रको १३ औं अंकमा प्रकाशन गर्नका लागि नेविसंघले लेख प्रतियोगिताको आयोजना गरेको हो ।
८० को दशक : युवा र विद्यार्थी विषयवस्तु केन्द्रित रहेर राष्ट्रव्यापी लेख प्रतियोगिता आयोजना गरिएको नेविसंघ प्रवक्ता सुरज सेजुवालले बताए । २०९० सालसम्म कस्तो देश बनोस् भन्ने परिकल्पना गर्नुहुन्छ र त्यसका लागि विविध क्षेत्रमा के के गर्नुपर्छ भन्ने प्रश्नको उत्तर प्रतिबिम्बित हुनेगरी लेख लेख्नुपर्ने प्रवक्ता सेजुवालले बताए ।
एउटा लेख बढीमा तीन वटा विशिष्टीकरण गरिएका क्षेत्रहरूमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ । विशिष्टीकरण गरिएका क्षेत्रहरूमा शिक्षा, स्वास्थ्य, रोजगारी, जलवायु परिवर्तन, पर्यटन, उद्यमशीलता, नवप्रवर्तन, हरित ऊर्जा, कृषि, राष्ट्रियता रहेका छन् ।
त्यसरी लेखिएका लेखमध्ये सर्वोत्तमलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने नेविसंघले जनाएको छ । त्यस्तै २० वटा लेखहरूलाई समेत पुरस्कार प्रदान गरिनेछ ।