धादिङ । धादिङ जिल्लामा ६८ वटा एम्बुलेन्स अभिलेख रहेको पाईएको छ ।
तर ८ वटा एम्बुलेन्स हाल संचालनमा नरहे पनी सञ्चालनमा रहेको ग वर्गको ५२ वटा एम्बुलेन्स मापदण्ड विपरीत रहेको पाइएको छ ।
सरकारले एम्बुलेन्स संचालनको लागि मापदण्ड बनाएको छ ।
मापदण्ड पालना नगरेमा कानुन बमोजिम कारबाहीको व्यवस्था समेत गरेको भएपनि धादिङमा भने निर्वाध रुपमा यस किसिमका ५२ वटा एम्बुलेन्स संचालन भइरहको छ ।
जिल्लामा क र ख वर्गकोे मात्र एम्बुलेन्स संचालन गर्न पाइने मापदण्डमा उल्लेख भएपनि धादिङमा हाल एम्बुलेन्स व्यवस्थापन समितिको कार्यालयमा रहेको अभिलेख अनुसार ५२ वटै एम्बुलेन्स ग वर्गका रहेका छन् ।
सरकारी मापदण्ड अनुसार सबै एम्बुलेन्समा अनिवार्य रुपमा जिपिएस जडान गर्नुपर्ने व्यवस्था छ । धादिङमा संचालनमा रहेको रुवीभ्याली गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले संचालन गरेको एम्बुलेन्समा मात्र जिपिएस जडान गरि नविकरण गर्दै आएको छ ।
२ वर्षअघि बागमति प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले धादिङका ४२ वटा एम्बुलेन्समा जिपिएस राखेकोे थियो ।
हरेक वर्ष एम्बुलेन्स संचालक आफैले नविकरण गर्नु पर्ने हुन्छ तर जिल्लामा भने बाबुआमाको नाममा प्रतिष्ठान नाम राखेर निजि एम्बुलेन्समा संचालन गरिएको र कसैले पनि जिपिएस नराखेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी तोयानाथ छत्कुलीले बताउनुभयो ।
हरेक वर्ष नविकरण गर्नुपर्ने र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिबाट सिफारिस लिनुपर्ने भएपनि हालको तिन वर्षमा कुनैपनि एम्बुलेन्सहरु नविकरण गर्न नआएको सचिवालयको जिम्मेवारी सम्हाल्नु भएका छत्कुलीको भनाइ छ।
तसर्पु स्वास्थ्य चौकी, धुनीबेसी नगर अस्पताल, गोगनपानी स्वास्थ्यचौकी, थाक्रे ग्रामीण अस्पताल, रुबभ्यिाली ग्रामीण अस्पताल, धादिङ अस्पताल, अम्बे भरोसा अस्पताल, नेरेसो धादिङले संचालन गरेको एम्बुलेन्स मात्र ख वर्गको छ ।
तर यी एम्बुलेन्सहरु समेत हरेक वर्ष नविकरण गर्नु पर्नेमा धेरैजसोले नविकरणको लागि जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिमा निवेदन दिएका छैनन् ।
यसमध्ये धादिङ अस्पतालले संचालन गरेको एम्बुलेन्स असार ५ गतेदेखि आफैँ विरामी परेर बसेको छ ।
धादिङ अस्पतालका सूचना अधिकारी डा.राम रिजालका अनुसार असार ५ गते एम्बुलेन्स चालक फेरबदल गरेपछि बुझ्दा एम्बुलेन्स विग्रिएको अवस्थामा रहेको पाइएको,एम्बुलेन्स मर्मतका लागि कार्यालय प्रमुखले लेखा शाखालाई तोक लगाएको र बजेट खर्च पाउने अवस्था आएपछि मात्रै व्यवस्थापन गर्नेछ ।
यता युनाइटेड सिमेन्ट उद्योगले संचालन गरेको एम्बुलेन्स एक वर्षदेखि विग्रेर बसेको छ ।
ताल्ती स्वास्थ्य चौकीको एम्बुलेन्स् ४ महिनादेखि संचालन गर्न नसकिने गरी विग्रेको छ ।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला एम्बुलेन्स् व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र देव पाण्डेले सरकारी मापदण्ड र नेपालको कानून अनुसार संचालनमा आउनु पर्ने र मानिसको जिवनसँग सरोकार राख्ने एम्बुलेन्स व्यवस्थापनको काम जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले गर्ने बताउनुभयो ।
उहाँले कानून विपरित संचालित एम्बुलेन्सलाई कानूनी दायरामा ल्याउने पनि पनि बताउनुभएको छ।