धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ७ सुकौराबाट अपहरण तथा शरीर बन्धक कार्यमा संलग्न दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका वडा नं. २०,चन्द्रनगर बस्ने वर्ष ४० को अनुप लामा र नवलपुरको कावासोती नगरपालिका वडा नं. ११ वस्ने वर्ष २९ को सरमन आचार्य रहेको जिल्ला प्रहरी कार्यालय धादिडका सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक) मकेन्द्र कुमार मिश्रले बागमती कलमलाई जानकारी दिनुभयो ।
साउन २१ गते बाँकेको राप्तीसोनारी गाउँपालिका४ बस्ने वर्ष ३० कि अञ्जुली कुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय धादिडमा आई आफ्नो श्रीमान राजेश कुमार थारुलाई अपरिचित मानिसहरुले काठमाण्डौको बाफलबाट धादिङतर्फ ल्याई सम्पर्क विहिन बनाएको र श्रीमानले प्रयोग गर्ने सिमबाट फोन गरी तत्काल छ लाख रुपैया मागेको,बैंक डिपोजिट नगरे जे पनि हुनसक्छ भनेर धम्काएको भन्दै जानकारी गराएको प्रहरी नायव उपरीक्षक मिश्रले बताउनुभयो ।
जानकारी पश्चात BTS Location को आधारमा नेत्रावती डबजोङ गाँउपालिकाको मार्पाक एरियामा रहेको बुझिए पछी तत्काल खोजतलास गर्दै जाने क्रममा साउन २३ गते साँझ ६ः३० बजे अपहरणमा परी बन्धकमा रहेका राजेश कुमार थारुलाई त्रिपुरासुन्दरी-७ सुकौराबाट सकुशल उद्दार गर्न सफल भएको उहाँको भनाई छ ।
पक्राउ परेका दुबै जनालाई २४ गते धादिङ जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसूरमा सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भईरहेको मिश्रले बताउनुभयो ।