धादिङ । धादिङमा आगामी फागुन १२ गतेदेखि ‘प्रथम सुमन स्मृति खुल्ला फुटबल प्रतियोगिता’ हुने भएको छ।
धादिङमा जन्मिएर फुटबललाई व्यवसायिक रुपले अघि बढाउँदै गर्दा निधन हुनुभएका खेलाडी सुमन श्रेष्ठको सम्मानमा जिल्लामा पहिलो पटक धादिङ फुटबल क्लबले राष्ट्रिय स्तरको खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्न लागेको धादिङ फुटबल क्लबका अध्यक्ष गोपीकृष्ण भण्डारीले जानकारी दिनुभयो।
क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो।
सदरमुकाम धादिङबेसीस्थित खुल्लामञ्चमा हुने यस प्रतियोगितामा देशभरबाट जुनकुनै क्लव तथा टिमहरु सहभागी हुन पाउने अध्यक्ष भण्डारीले बताउनुभयो।
युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नु, फुटबल खेलको लोकप्रियता वृद्धि गर्नु र स्वस्थ जीवनशैलीको प्रवद्र्धन गर्नु मूल उद्देश्य रहेको भन्दै भण्डारीले भने यो प्रतियोगितामा खेलाडीको उमेर,ठेगानामा रोक नलगाइएको बताउनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा सहभागी हुने टिमले विदेशी खेलाडी पनि राख्न पाउनेछन् ।
प्रतियोगितामा प्रथम हुने टिमले एक लाख ७५ हजार, दोस्रोले ७५ हजार तथा सेमिफाइनल पुग्ने दुई टिमलाई २५/२५ हजार रुपैंया नगद प्रदान गरिने अध्यक्ष भण्डारीको भनाई छ ।
धादिङ जिल्लामा भएका खेलकुद प्रतियोगितामध्ये यो नै सर्वाधिक पुरस्कार राशी भएको आयोजकको दावी छ । यसैगरी प्लेयर अफ टुर्नामेन्ट र अन्य विधामा पनि खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
लामो समयदेखि जिल्ला सदरमुकाममा फुटबल प्रतियोगिता सञ्चालन हुन नसकिरहेको अवस्थामा प्रत्येक वर्ष खुल्ला फुटबल प्रतियोगिता सञ्चालन गर्ने योजनासहित यो प्रतियोगिता आयोजना गरिएको क्लवका सचिव सरोज पाण्डेले बताउनुभयो ।
फागुन १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता नकआउट चरणमा हुनेछ ।
नाइन ‘ए’ साइड अन्तर्गत हुने प्रतियोगिताका लागि टिम दर्ता गर्दा कोच र मेनेजर सहित १५ जना हुने छन् । नौ जनाले मैदानमा खेल्नेछन् भने चार जना अतिरिक्त बस्नेछन् ।
यस्तै फुटबल प्रतियोगिताको उद्घाटनका दिन खुल्ला पुरुष म्याराथुन प्रतियोगिता पनि हुने भएको छ।
धादिङ फुटबल क्लबका अध्यक्ष भण्डारीका अनुसार खुल्लामञ्चबाट ससाह र ससाहबाट खुल्लामञ्चसम्म म्याराथुन हुनेछ ।
म्यारुथुनमा प्रथम हुनेलाई २५ हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार नगद पुरस्कार दिइने आयोजकले बताएको छ ।
खेल क्षेत्रको विकास र त्यसप्रति युवाहरुको आकर्षण बढाउने उद्देश्यसहित आयोजना गरिएको दुबै प्रतियोगिता सम्पन्न गर्न नीलकण्ठ नगरपालिकाले सहयोग गर्ने भण्डारीले बताउनुभयो।